२०८३ श्रावण १४ बिहीबार
[the_ad id="6228"]

एक रुपैयाँ घुस खाएको थाहा पाएँ भने आफैं एक्सनमा उत्रिन्छु : गृहमन्त्री गुरुङ

गोरखा । गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति सरकारले ‘शून्य सहनशीलता’ को नीति अपनाएको स्पष्ट गर्दै मातहतका कर्मचारीलाई घुसखोरी र अनियमिततामा संलग्न भए कडा कारबाही हुने चेतावनी दिएका छन्।

शुक्रबार साँझ गोरखास्थित जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूसँगको भेटमा गृहमन्त्री गुरुङले देशका कुनै पनि सरकारी कर्मचारीले एक रुपैयाँ मात्र घुस लिएको प्रमाण फेला परे पनि आफू स्वयं कारबाहीका लागि अघि बढ्ने बताए।

उनले बिचौलियामार्फत काम मिलाउने, नागरिकता लगायतका सार्वजनिक सेवामा घुस माग्ने वा सेवाग्राहीलाई दुःख दिने प्रवृत्ति कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारे। यस्ता गतिविधिको जानकारी आफूलाई प्राप्त भए तत्काल व्यक्तिगत रूपमा हस्तक्षेप गरेर कारबाही प्रक्रिया अघि बढाउने उनको भनाइ थियो।

गृहमन्त्री गुरुङले अहिलेका नागरिक सचेत र अधिकारप्रति जागरूक भएकाले कर्मचारीहरूले आफ्नो व्यवहार, कार्यशैली र सेवा प्रवाहमा सुधार गर्नुपर्नेमा जोड दिए। सुशासन कायम गर्नकै लागि आफू जनताबाट निर्वाचित भएर आएको उल्लेख गर्दै उनले कर्मचारीहरूले पनि इमानदारिता र जिम्मेवारीका साथ काम गर्नुपर्ने बताए।

उनले जनताको सेवा नै सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै सेवाग्राहीसँग मिठो बोली, सम्मानजनक व्यवहार र छिटोछरितो सेवा दिन कर्मचारीहरूलाई निर्देशन दिए। साथै, काम गर्ने क्रममा देखिएका समस्या वा कमजोरीबारे आफूलाई जानकारी गराउन आग्रह गर्दै सकारात्मक परिवर्तनको सुरुआत आफ्नै गृहजिल्ला गोरखाबाट गर्नुपर्ने बताए।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर