काठमाडौं । गृहमन्त्री सुधन गुरुङको प्रत्यक्ष उपस्थितिमा पर्साको ठोरीस्थित दुई होटलमा छापा मारिएको छ। असार ३० गते मिटरब्याज पीडितसँग भेटघाटका लागि बाराको सिमरा पुगेका गुरुङ काठमाडौं फर्किने क्रममा ठोरी बजारस्थित होटलमा पुगेका थिए।
प्राप्त सूचनाका आधारमा गृहमन्त्रीले ठोरी दोहोरी साँझ र रिसोर्ट ठोरी क्याम्प फायर होटलमा आफ्नो टोलीसहित निरीक्षण गरेपछि जिल्ला प्रहरी कार्यालय पर्सालाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर दुवै होटलमा संयुक्त रूपमा छापा मारेको थियो।
प्रहरीले छापाका क्रममा दुई होटलबाट ११ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ७ जना महिला र ४ जना पुरुष रहेका छन्। मधेश प्रदेश प्रहरीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
प्रहरी स्रोतका अनुसार काठमाडौं फर्किने क्रममा बाटोमै ती होटलमा अवैध गतिविधि सञ्चालन भइरहेको सूचना गृहमन्त्रीलाई प्राप्त भएपछि उनी आफैं निरीक्षणका लागि पुगेका थिए। त्यसलगत्तै प्रहरी परिचालन गरी छापा मारिएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ परेका अधिकांश व्यक्तिमाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। यस्तै, होटल सञ्चालकमाथि मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।








