२०८३ श्रावण १२ मंगलवार
[the_ad id="6228"]

राजविराज कारागार तनावग्रस्त, कैदीबन्दीको आत्मदाह प्रयासपछि सुरक्षा कडा

२ साउन, काठमाडौं । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलरको सरुवाको माग गर्दै कैदीबन्दीहरूले आन्दोलन गरेपछि कारागार परिसर शुक्रबार तनावग्रस्त बनेको छ। आन्दोलनका क्रममा केही कैदीबन्दीले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेपछि स्थिति थप संवेदनशील बनेको हो।

 

कैदीबन्दीहरूले जेलर रूपक मण्डलमाथि चौकीदार नियुक्तिको नाममा आर्थिक चलखेल गरेको र रकम असुलेको आरोप लगाउँदै उनको तत्काल सरुवा, घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग गरेका छन्। उनीहरू तीन दिनदेखि आन्दोलनरत छन्।

 

प्रहरी कारागारभित्र प्रवेश गरी आन्दोलन नियन्त्रण गर्न खोजेपछि तनाव बढेको थियो। त्यसक्रममा केही कैदीबन्दीले आत्मदाहको प्रयास गरेपछि प्रहरी पछि हटेको स्रोतले जनाएको छ।

 

कैदी धर्नेन्द्रप्रसाद साहले आफूलाई चौकीदार बनाइदिने आश्वासन दिँदै जेल प्रशासनका नाममा पाँच लाख रुपैयाँ घुस लिएको आरोप लगाएका छन्। यस्तै, कारागारभित्र रकम असुली र चौकीदार सरुवाको विषयलाई लिएर कैदीबन्दीमाथि कुटपिट भएको आरोपसमेत सार्वजनिक भएको छ।

 

घटनापछि कारागार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सुरक्षा टोली परिचालन गरिएको छ। सुरक्षा संवेदनशीलता देखाउँदै सञ्चारकर्मीलाई समेत घटनास्थलमा प्रवेश गर्न रोक लगाइएको छ।

 

सप्तरीका प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाले प्रहरी कारागारभित्र प्रवेश गर्न खोज्दा केही कैदीबन्दीले शरीरमा मट्टीतेल खन्याएको पुष्टि गर्दै अहिले दुवै पक्षबीच वार्ता र समझदारीको प्रयास भइरहेको तथा अवस्था क्रमशः सामान्य बन्दै गएको जानकारी दिएका छन्। प्रशासनले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर