२०८३ श्रावण १२ मंगलवार
[the_ad id="6228"]

अतिभारी वर्षाको जोखिमः उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना रहेको भन्दै सर्वसाधारण र सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

 

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आज र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अतिभारी वर्षा हुन सक्नेछ। साथै देशका धेरै हिमाली, पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको छ।

 

प्राधिकरणका अनुसार लगातारको वर्षाले आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र नदी कटानको जोखिम बढ्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक रातिको यात्रा नगर्न र जोखिमयुक्त सडकमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

 

विशेषगरी पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा जिल्लामा रातिको सवारी सञ्चालन गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

 

प्राधिकरणले सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकलाई उद्धार र राहत कार्यका लागि तयारी अवस्थामा रहन, जोखिमयुक्त सडकमा आवश्यक उपकरण तयारी अवस्थामा राख्न तथा जोखिममा रहेका बस्तीका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न पनि निर्देशन दिएको छ।

 

साथै नदी किनार, पहिरोको जोखिम भएका क्षेत्र र खोलाछेउका बस्तीका बासिन्दालाई विशेष सतर्क रहन तथा जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान र चेतावनी नियमित रूपमा पालना गर्न आग्रह गरिएको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर