जनकपुरधाम । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा धितो राखेर करिब ४ करोड रुपैयाँ ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी ४८ वर्षीया श्रीमती रेखा साह र ३२ वर्षीय छोरा हरेराम साह पक्राउ परेका हुन्।
प्रहरीका अनुसार गोपाल साहलाई जनकपुरधामस्थित एक होटलबाट, रेखा साहलाई धनुषाको जटही सीमा नाकाबाट र हरेराम साहलाई काठमाडौंबाट पक्राउ गरिएको हो।
अनुसन्धानका क्रममा जनकपुरधाम–२ निवासी गोविन्दकुमार साहले व्यापारका लागि ९९ लाख रुपैयाँ ऋण लिँदा दृष्टिबन्धकमा राखेको जग्गा जग्गाधनीलाई जानकारी नै नदिई बैंकमा धितो राखेर गोपाल साहसहित तीन जनाले करिब ४ करोड रुपैयाँ ऋण निकालेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले गोपाल साहको घरबाट ५० थान जग्गाधनी पुर्जा, १८ थान नागरिकता प्रमाणपत्र, एक थान ल्यापटप तथा विभिन्न छाप र नक्सासमेत बरामद गरेको छ।
पक्राउ परेका तीनै जनामाथि ठगी तथा अनुचित लेनदेनसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।








