रौतहट, साउन ८ – रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा शुक्रबार बिहान खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ। घटनामा संलग्न आरोपितलाई आक्रोशित स्थानीयवासीले कुटपिट गरेपछि उनी गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब १०:३० बजे स्थानीय चन्देश्वर साह कलवारकी श्रीमती अन्दाजी ४०/४५ वर्षीया रेनु देवी जयसवालमाथि धारिलो हतियार (खुकुरी) प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको हो।
हत्यामा बाराको करैयामाई गाउँपालिका–८ ईटहर बेलाही टोल घर भई हाल गुजरा नगरपालिका–५ हरिहरपुरमा बस्दै आएका अन्दाजी ३५ वर्षीय उपेन्द्र साह कलवार संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनापछि आक्रोशित स्थानीयवासीले उपेन्द्रमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनको चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ।








