२०८३ भाद्र २५ बिहीबार
[the_ad id="6228"]

नेपालगञ्जमा जेन–जी आन्दोलनका शहीदको सम्झनामा दीप प्रज्वलन

नेपालगञ्ज ।जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका जेन – जी सहिदहरूको सम्झनामा नेपालगञ्जस्थित बीपी चोकमा दीप प्रज्वलन गरिएको छ।

 

आन्दोलन भएको एक वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले दीप बाल्दै ज्यान गुमाएका आन्दोलनकारीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। कार्यक्रममा सहभागीहरूले शहीदहरूको योगदान र बलिदानलाई स्मरण गर्दै उनीहरूको सम्झनालाई निरन्तर जीवित राख्नुपर्ने धारणा व्यक्त गरे।

 

जेन–जी आन्दोलनका क्रममा बाँकेका सुलभराज श्रेष्ठ र आयुष थापाले पनि ज्यान गुमाएका थिए। उनीहरूको स्मृतिमा नेपालगञ्जमा यसअघि समेत विभिन्न श्रद्धाञ्जली तथा दीप प्रज्वलनका कार्यक्रम हुँदै आएका छन्।

 

बीपी चोकमा प्रज्वलित गरिएका दीपहरूले दिवंगत युवाहरूप्रतिको सम्मान, सम्झना र श्रद्धालाई प्रतिबिम्बित गरेको थियो। सहभागीहरूले उनीहरूले उठाएका सवाल तथा देखेको परिवर्तनको अपेक्षालाई स्मरण गर्दै उनीहरूको सपना र योगदानलाई भुल्न नदिने प्रतिबद्धता जनाएका थिए।

 

दीप प्रज्वलनमार्फत सहभागीहरूले शहीदहरूको स्मृतिलाई पुस्तासम्म जोगाइराख्ने सन्देशसमेत दिएका छन्।

 

 

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर