काठमाडौं । राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका राइडर गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि घटनाबारे अनुसन्धान तीव्र पारिएको छ। प्रहरीले घटनाको समयमा ड्युटीमा रहेका तीन जना नगर प्रहरीसँग सोधपुछ गरेको जनाएको छ।
प्रहरीका अनुसार त्रिपुरेश्वरस्थित राहदानी विभाग पछाडिको सडकमा खटिएका दुई महिला र एक पुरुष नगर प्रहरीलाई घटनाबारे बयानका लागि बोलाइएको हो।
मुगुको सोरु गाउँपालिका–२ का २५ वर्षीय गणेश नेपालीले बिहीबार दिउँसो करिब १:४० बजे आफ्नै शरीरमा आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान निधन भएको हो।
प्रारम्भिक जानकारीअनुसार, यात्रु लिएर राहदानी विभाग पुगेका नेपालीको मोटरसाइकलमा काठमाडौं महानगर प्रहरीले ह्विल लक लगाएपछि विवाद भएको थियो। विवादपछि उनी केही समय त्यहाँबाट फर्किए पनि पुनः आएर महानगर प्रहरीले मोटरसाइकल लैजान लागेको बेला आत्मदाहको प्रयास गरेका थिए।
घटनालगत्तै स्थानीय, प्रहरी र उपस्थित सर्वसाधारणले आगो निभाई उनलाई तत्काल वीर अस्पताल पुर्याएका थिए। तर उपचारकै क्रममा उनको निधन भयो।
हाल मृतक गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको छ भने घटनाको सबै पक्षबाट अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।








