काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल क्षेत्रमा सिक्री लुटपाटको घटनापछि फरार रहेका कर्मा तामाङलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार साउन १६ गते राति करिब १०:२५ बजे पक्राउ गर्न खोज्दा तामाङले साथमा रहेको खुकुरी प्रयोग गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। त्यसपछि आत्मरक्षाका लागि प्रहरीले तीन राउण्ड गोली प्रहार गरेको जनाएको छ।
गोली लागेर घाइते भएका तामाङलाई नियन्त्रणमा लिएपछि उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ। घटनास्थलबाट लुटपाटमा प्रयोग भएको खुकुरीसमेत प्रहरीले बरामद गरेको जनाएको छ।








