२०८३ भाद्र ८ सोमबार
[the_ad id="6228"]

हेटौंडामा पानी जमेको खाल्डोमा डुबेर १४ वर्षीय बालकको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ रोएनी कोलोनीस्थित कर्रा खोलाको छेउमा पानी जमेको खाल्डोमा डुबेर १४ वर्षीय बालकको मृत्यु भएको छ।

 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–१७ निवासी केशव राईका १४ वर्षीय छोरा युकेश राई शनिबार दिउँसो साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

 

स्थानीयवासी, नेपाल प्रहरी, बागमती प्रदेश विपद् व्यवस्थापन प्रहरी गुल्म हेटौंडा तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजीपछि युकेशलाई उद्धार गरी हेटौंडा अस्पताल पुर्‍याएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए।

 

घटनापछि मृतकको शव हेटौंडा अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यसैबीच प्रहरीले वर्षायाममा खोलानाला, पानी जमेको खाल्डो तथा डुबानको जोखिम भएका स्थानमा पौडी नखेल्न, बालबालिकालाई त्यस्ता क्षेत्रमा जान नदिन तथा बाढी आएको बेला खोला–खोल्सी र जलमग्न सडक जबर्जस्ती पार नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Picture of अनलाइन नेपाल खबर

अनलाइन नेपाल खबर